राजन भट्टराई, फाइल तस्बिर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुस र युक्रेनबीचको युद्धका सन्दर्भमा सरकारले लिएको पछिल्ला निर्णयका कारण नेपालको विदेश नीतिका आधारमाथि आशंका जन्माएको बताएको छ।
एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अहिलेको अवस्थामा विदेश नीतिका आधारभूत मान्यताहरुमा तलमाथि हुनेछैन भनि विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।
विश्व व्यवस्था ध्रुविकृत हुँदै गएको र विदेश नीतिमा नेपालले लिँदै आएको मान्यता (असंलग्न परराष्ट्र नीति)को सान्दर्भिकता बढेको पनि भट्टराईले उल्लेख गरेका छन्।
'असंलग्नताको सिद्धान्तको सही अर्थमा पालना, आन्तरिक मामलामा अहस्तक्षेप, सार्वभौम समानतामा आधारित पारस्परिक सम्बन्ध, आफ्नो भू–भाग कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता, शान्तिपूर्ण तथा न्यायपूर्ण विश्व व्यवस्थाको पक्षधरता तथा अन्तर्राष्ट्रिय कानुनको पालना, छिमेकी तथा अन्यसंग मित्रतापूर्ण सम्बन्ध हाम्रो विदेशनीतिका आधारहरू हुन,' भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'उल्लेखित मान्यताहरूमा कुनै पनि अवस्थामा विचलन देखा पर्नु हाम्रो विदेश नीतिको असफलता हो। युक्रेन रसियाको मामलामा सरकारको निर्णयले माथि उल्लेख गरिएका मान्यतामा आशंका जन्माएको छ। यस अवस्थामा विदेश नीतिमा हाम्रा आधारभूत मान्यताहरूमा तलमाथि हुने छैन भनि विश्वासको वातावरण वनाउनु आजको आवश्यकता हो। जिम्मेवारहरूमा चेतना भया।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।