अनेरास्वियु अध्यक्ष सुनिता बराल, फायल तस्बिर
काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिवि सेवा आयोगको परीक्षा तत्काल सञ्चालन गर्न माग गरेको छ।
अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै आयोगले निकालेको कार्यतालिका अनुसार नै निर्धारित समयमै उपप्राध्यापक लगायतका विज्ञापनको परीक्षा सञ्चालन गर्न माग गरेकी हुन्।
‘खुला प्रतिस्पर्धाबाट सक्षम र प्रतिस्पर्धी शिक्षक सिफारिस गर्ने स्वतन्त्र निकाय त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लामो समयदेखि तालाबन्दी गरेर उपप्राध्यापक पदका लागि लिइने परीक्षालाई प्रभावित गर्ने केही समूहको कुकर्मप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
परीक्षार्थीहरू लामो समयदेखि परीक्षाको अन्तिम तयारीमा जुटिरहेको बेलामा खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको कामकारबाहीलाई प्रभावित गर्ने काम प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको विज्ञप्तिमा उल्लेख छ।
त्रिविमा कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा भएको अनेरास्ववियुले जनाएको छ। कुनै पनि प्रकारको डर, त्रास र दबाबमा नपरी स्वच्छ ढङ्गले परीक्षा सञ्चालन गर्न सेवा आयोगलाई अनेरास्ववियूले आग्रह पनि गरेको छ।
‘स्वच्छ र मर्यादित रुपमा आयोगको परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको समेत जानकारी गराउँदै प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न आग्रह समेत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।