काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विपक्षमा रहेका पार्टी र नेताहरूको भेटलाई तीब्रता दिएका छन्। कपिलवस्तु बस्दै आएका विप्लव संसद्बाट एमसीसी अनुमोदन भएपछि काठमाडौं आएर विभिन्न पार्टी र नेताहरूलाई भेटिरहेका छन्। एमसीसी विरोधी पार्टी र नेतालाई एउटै कित्तामा उभ्याएर शक्तिमा आउने दाउमा विप्लव लागिरहेको उनीनिकट नेताहरूले बताएका छन्।
एमसीसीकै कारण नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलमा असन्तुष्टि बढेपछि विप्लवले सक्रियता बढाएका छन्। उनी ती पार्टी र नेताहरूलाई एमसीसी विरोधी कित्तामा उभ्याउने प्रयासमा जुटेका छन्।
त्यसैको सिलसिलामा विप्लवले बुधबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेटे। श्रेष्ठलाई भेट्न विप्लव उनकै निवास हात्तीवन पुगेका थिए। पार्टीमा एमसीसी पारित भएकै कारण असन्तुष्ट भएका श्रेष्ठलाई आफ्नो कित्तामा उभ्याउन विप्लव लागिपरेका हुन्। तर, श्रेष्ठनिकट केन्द्रीय सदस्य जीवन गौतमले भने एउटै मुद्दाले पार्टीमा जुट्ने र फुट्ने अवस्था नआउने बताउँछन्। नेता भएकाले भेटघाट हुनुलाई स्वाभाविक रुपमा लिनु पर्ने गौतमको भनाइ छ।
श्रेष्ठलाई भेटेलगत्तै विप्लव र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेटेका थिए। नेमकिपा एमसीसीको विपक्षमा लगातार उभिँदै आएको छ। उनलाई समेत एमसीसी विरोधी कित्तामा उभ्याउने प्रयासमा विप्लव जुटेको बताएको छ।
श्रेष्ठ र विजुक्छेलाई भेटेपछि उनीहरूले बुधबार दिउँसो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेका थिए। एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएपछि खनाल असन्तुष्टि जनाएका थिए।
भेटघाटलाई निरन्तरता दिने क्रममा बिहीबार विप्लव र प्रकाण्ड एमाले नेता भीम रावललाई भेट्न उनकै निवास टोखा पुगे। एमाले एमसीसीका विषयमा मौन बसेपनि रावलले संसद्को सैद्धान्तिक छलफलमा भाग लिएर विरोध जनाएका थिए। रावल पनि लामो समयदेखि एमसीसीको विपक्षमा बोल्दै आएका नेता हुन्। विप्लवले उनलाई समेत साथमा लिन खोजेको बुझिएको छ।
'नेकपा (एमाले) का नेता क. डा. भीमबहादुर रावलसँग राष्ट्रघाती एमसीसी अनुमोदनपछिको विकसित राजनीतिक परिस्थितिबारे छलफल। देशभक्त, राष्ट्रवादी र स्वाधीनताका पक्षधरहरू एकीकृत र ध्रुविकृत हौँ', रावलसँगको भेटपछि प्रकाण्डले सामाजिक सञ्जालमा लेखेका छन्।
संसद्बाहिर भएका ६ कम्युनिस्ट पार्टीले एमसीसी विरोधी मोर्चाबन्दी गरिसकेका छन्। एमसीसी संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भइसकेकाले विरोध गरेर राजनीतिक लाभ लिने सम्भावना कम देखिएको छ। यद्यपि, एमसीसी कार्यान्वयनको चरणमा भने उनीहरुले बाधा पुर्याउन सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।