काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्।
अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएपछि विप्लवले विभिन्न दलका नेताहरुसँग भेटघाट बढाएका हुन्।
संसद्बाट अनुमोदन भएको एमसीसी सम्झौताको विपक्षमा रहेका नेताहरुसँग विप्लवले भेटवार्ता गर्दै आइरहेका छन्।
बिहीबार मात्रै विप्लवले नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम बहादुर रावलसँग भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा विप्लवले आफूसँग राष्ट्रिय स्वधीनताका लागि सबै देशभक्तहरु एक हुनुपर्ने प्रस्ताव राखेको रावलले जानकारी दिएका छन्।
रावलका अनुसार विप्लवले 'देशभक्तहरु' एक हुनुपर्ने र मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
'आज (बिहीबार) नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,' विप्लवसँगको भेटपछि रावलले सामाजिक सञ्जालमा लेखेका छन्।
विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतसँग भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।