कैलाली– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छर्ने काम भएको बताएका छन्।
प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारेको आरोप लगाएका हुन्। पोखरेलले व्याख्यात्मक घोषणालाई लाज जोगाउने प्रयासको संज्ञा दिए। ‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ,’ उनले भने, ‘जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन।’
कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेकोसमेत उनले स्पष्ट पारेका थिए। सम्झौता हस्ताक्षर गरेकै दिन एमसीसी पारित भएको भन्दै सत्ता र शक्तिको लागि गठबन्धन तयार भएको उनले बताए।
एमसीसी प्रकरणबारे उनले सभामुख अग्नि सापकोटाको समेत आलोचना गरेका थिए । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ,’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ।’
कांग्रेससँग पटकपटक भएको वार्ता र छलफलका विषयमा समेत उनले प्रष्ट पारेका थिए। त्यो छलफल सत्ता र समीकरणबारे नभएको बताए। उनले भने, ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन। हामीले उनीहरूलाई सँगैै राखेर यो प्रकरणमा जनातालाई देखाउनु थियो। उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो, त्यो जनताले देखिसकेका छन्।’
पोख्रेलले गठबन्धनको औचित्य नरहेको बताए। परमादेशको सरकारलाई जनादेशबाट विस्थापित गर्ने समेत उनले दाबी गरे।
महासचिव पोख्रेलले नेकपा कालीन विषयलाई स्मरण गर्दै माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाएका विषयसमेत गलत रहेको पुष्टि भएको बताए।
नेकपामा एक व्यक्ति एक पदका विषयमा उठान गरेको तर अहिले आफू नै दुई पदमा बसेको भनदै उनले दुवै नेताको आलोचना गरे।
आगामी दिनमा पनि संसद् अवरोध कायमै राख्ने उनले बताए। ‘१४ जना सांसदलाई कारबाही नभए वा सभामुखले राजीनामा नदिएसम्म हाम्रो विरोध जारी रहन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।