काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का नवनियुक्त प्रमुखहरूलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो।
बिहीबार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले पुँजीबजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन्। खुला प्रतिस्पर्धाबाट छनोट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए।
उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिए। पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उनले प्रष्ट पारेका छन्।
अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने समेत बताए। ‘जनतामा भएको पैसा पुँजी बजारमा त आयो। अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुपर्यो। ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाईंहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजीबजारको आवश्यकता हो ।’
साथै, उनले पुँजी बजारमा राजनीति नगर्न पनिआग्रह गरे। ‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन। यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ’, अर्थमन्त्री भन्छन, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन।’
मन्त्री शर्माले कार्यभार सम्हाल्ने बित्तिकै पुँजी बजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको बताए। नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिने गरी काम गर्न निर्देशन दिएका छन्।
‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन। म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’, उनले, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन।’
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए। त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमि कमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए। उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडि बढाउन निर्देशन दिए।
अर्थमन्त्री शर्माले दिएका मुख्य ११ निर्देशनहरू :
१) कोभिड १९ को महामारीबीच पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजी बजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने।
२) पुँजी बजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महतत्त्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नु पर्नेछ। ठूला पूर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।
३) २० कात्तिक २०७५ देखि नयाँ टीएमएस भित्रिएको छ। यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्नेछ।
४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ। विशेषगरी एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटल समेतको आधारमा साना कम्पनीहरूका लागि आवश्यक बजारको विकास गर्नुपर्छ।
५) सूचीकरणमा आउन नसकेका तथा आईपीओको लागि योग्य भइनसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटीसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।
६) अटोमेसन अक्सन सुरु गर्ने। अक्सन बजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने। कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडि बढाउने। यो ऐन बनेको ४ वर्ष भयो।
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्। त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मलक्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केटभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इण्डेक्स फण्डतथा ट्रेडेट फण्डको शुरुवात गर्ने।
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरूमार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडि बढाउने।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे्रडिङ रोक्ने। पुँजीबजार सम्बन्धी जनचेतना, पुँजीबजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।