काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई राजनीतिक रुपमा सहकार्य गरेर जान प्रस्ताव गरेका छन्।
बुधबार श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेर विप्लवले क्रान्तिकारी शक्तिहरुबीच मोर्चाबन्दी गरेर जाने प्रस्ताव गरेका हुन्।
माओवादीमा बसेर केही नहुने भन्दै विचार मिल्ने शक्तिहरु धुर्वीकरण गरेर जान विप्लवले प्रस्ताव गरेको श्रेष्ठ निकट एक नेताले बताए।
जवाफमा उनले आफू माओवादी केन्द्रमै भएकाले पार्टीको केन्द्रीय समिति पछि मात्रै केही भन्न सकिने बताएका उनको भनाइ छ।
‘माओवादीमा बस्न सजिलो भइरहेको छैन। यसअघि देखि नै पार्टीमा समस्या छ। मलाई यहीँ पार्टीलाई रुपान्तरण गरेर जान सकिन्छ कि भन्ने लागेको छ’ श्रेष्ठको भनाइ उदृत गर्दै ति नेताले भने, ‘तर, तलबाट एउटै पार्टीमा बस्न सकिँदैन। कति अपमान सहने भन्ने छ। यद्यपि परिस्थिति हेरेर निर्णय गर्छु।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणामा केही नेताले असन्तुष्टि व्यक्त गरेपछि दिएको अभिव्यक्तिलाई लिएर नेता श्रेष्ठ पक्ष असन्तुष्ट बनेको छ।
उक्त समूहले पार्टीबाट अलग हुने विषयमा समेत छलफल थालेपछि अध्यक्ष प्रचण्ड नेता श्रेष्ठसँगको छलफलका लागि मंगलबार हात्तीवन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।