काठमाडौं– विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले राजीनामा दिएका छन्। हमालले मंगलबारदेखि नै लागू हुनेगरी पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन्।
हमाल २०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए। त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएका हमालले फेरि पनि स्वतन्त्र उम्मेदवार बन्न राजीनामा दिएको बताएका छन्।
‘धनगढीका जनताले मलाई फेरि पनि स्वतन्त्र उम्मेदवार बन्न सल्लाह दिनुभएको छ’, हमालले भने, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी पनि गरेकाले पार्टीका सबै जिम्मेवारीसँगै साधारण सदस्यबाट समेत राजीनामा दिएको छु।’
हमाल २०७४ सालयता विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक थिए। हमाल राजनीतिभन्दा सुदूरपश्चिमलाई चिनाउने अभियन्ताका रुपमा परिचित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।