काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाबाट एमसीसीसँगै पारित गरिएको व्याख्यात्मक घोषणालाई केही होइन भन्नेहरु अज्ञानी भएको बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणाप्रति भइरहेको आलोचनाको खण्डन गरेका हुन्।
'एमसीसीका विषयमा फैलिएका भ्रम, व्याख्यामा देखिएको अन्यौलतालाई प्रष्ट पार्नका लागि केही उपायको खोजी गर्यौँस। यहाँ कसैकसैले व्याख्यात्मक घोषणलाई केही पनि होइन भनेर प्रचार गर्न खोजिरहेका छन्। त्यसलाई केही होइन भन्नु अन्तर्राष्ट्रिय ट्रिटी सम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरुको कुरा मात्रै हो', उनले भने।
अध्यक्ष नेपालले आलोचकहरुलाई नेपालमा २०७७ सालमा सन्धि सम्बन्धी नियमावली जारी भएको र त्यसले फर्म्याट अगाडि सारेको बताए। 'त्यही फर्म्याटको आधारमा कुनै पनि ट्रिटीको साथमा त्यसलाई प्रस्तुत गर्योो भने त्यससँग त्यो जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको थियो। त्यही फर्म्याटमा व्याख्यात्मक घोषणा तयार भएको हो', उनले भने।
उनले एमसीसीका सन्दर्भमा जनतामा आशंका सिर्जना गर्ने काम केपी ओलीले गरेको आरोप लगाए। उनले आशंकालाई निमिट्यान्न पार्ने नगरेको उनको आरोप छ। 'धारे हात लगाए। जनतालाई दोष दिए। पार्टीभित्रका नेता तथा कार्यकर्तामाथि लाञ्छना लगाए। मेरो ढंग र बुद्धि पुगेन भनेर कहीँ आत्मालोचना गरेनन्। त्यसैले समस्या खडा गरेको हो', उनले भने।
एमाले अध्यक्ष ओलीले मंगलबारै जारी गरेको वक्तव्यमा मर्यादाहीन शब्दहरु प्रयोग गरेको भन्दै नेपालले आलोचना गरे। दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलित हुन पुग्ने र असन्तुलित दिमागको उपजको रुपमा सो प्रेस वक्तव्य आएको उनको भनाइ छ।
'केपी ओलीमा देशभक्तिको भावना छँदैछैन। आत्मसमर्पणवादी नीति अवलम्बन गरेर, दक्षिणपन्थी बाटो अँगालेर अगाडि बढेको मान्छे कम्युनिस्ट हुन लायक नै छैन। देशभक्त हुन लायक पनि छैन', नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।