काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्ने समयमा मुकदर्शक भएको बताएका छन्।
एमसीसी संसदबाट पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्नो नेतृत्वको सरकार हुँदा एमसीसी जसरी पनि पारित गर्नुपर्छ भन्ने भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि मुकदर्शक बनेको बताए।
गठबन्धन सरकारले एमसीसी पारित गर्नेक्रममा समर्थन न विरोध केही नगरेर ओली बसेको नेपालको आरोप थियो।
‘भ्रम पार्न खोज्नेहरुले पार्न खोज्छन्। भ्रम निवारण गर्न खोज्नेहरु तथ्यका आधारमा त्यसलाई चिर्न कोसिस गर्छन्। जसको पक्षमा तथ्य हुन्छ जसको पक्षमा सत्य हुन्छ। जित उसैको हुन्छ’ नेपालले भने, ‘तपाईंले लगातार सुनिरहनु भयो। एमसीसीको सन्दर्भमा एउटा धारणा बनाउँछौ। त्यो धारणा संसदमा प्रस्तुत गर्छौं। धारणाका आधारमा उपयूक्त निर्णय गरेर कदम चाल्छौ भनेर ओली कम्पनीबाट सुनिरहेका थियौं। अन्तिममा न समर्थन न विरोध अझै भन्ने हो भने एउटा प्रहर्षन जस्तो स्थिति बन्यो तमासा भयो।’
तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा ओलीले एमसीसी पारित गर्न खोजेपनि पछिल्लो अवस्थामा चुपचाप भई बसेको नेपालले बताए। ‘जसले एमसीसी अगाडि बढाउन सारा थोक गर्यो उ मुकदर्शक भएर बस्यो। के कारणले भन्दा पनि केही कारणले होइन’ नेपालले भने, ‘त्यो एमाले एकीकृत समाजवादी अस्थित्वबाट आतकित भएर मुकदर्शक बन्यो। हाम्रा सांसदहरुको उपस्थित देखेर विचलित भएर हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।