काठमाडौं– अभिनेत्री ऋचा शर्मा पल शाहविरुद्ध परेको बलात्कारको जाहेरीको विषयमा बोलेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत पीडित बालिकाको संरक्षण आवश्यक भएको बताएकी हुन्।
पलविरुद्ध केही दिनअघि तनहुँ प्रहरीमा बलात्कारको जाहेरी परेको थियो। एक नाबालिग गायिकाले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। तर, यो विषयमा कलाकारिता क्षेत्रकै मान्छेहरु मौन बसेका थिए। बोल्नेहरुमध्ये अधिकांशले पलकै समर्थनमा उनी ‘निर्दोष’ भएको र ‘फसाइएको’ भन्ने गरेका थिए।
यसबीच ऋचाले भने उक्त घटनामा आफू कानुन र न्यायको पक्षमा भएको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘मुलुकी अपराध संहिता भन्छ, ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो।’ कानुनमा कसले, के र कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि हौ नि।’
ऋचाले नाबालिगको सरक्षणको जिम्मा समाजको पनि भएको उल्ले गरेकी छिन्। उनले १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध ठहरिनुको कानुन व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिने बताएकी छन्। उनले नाबालिगकै करमा वा बोलाएको अवस्थामा पनि यौन सम्बन्ध राखेमा यो बलात्कार हुने र कानुनले छुट नदिने बताएकी छन्।
‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले,’ उनी भन्छिन्, ‘नाबालिगको संरक्षण, कानुनको सम्मान हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।