काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार खुमलटारस्थित आफ्नो निवासमा केही पत्रकारहरुलाई बोलाएर अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदन गर्नुका कारण र त्यसपछाडिको अवस्था प्रष्ट्याउने प्रयास गरे। उनले सिधै नभने पनि उनको प्रयत्न त्यसको जस लिने रहेको प्रष्ट देखिन्थ्यो। खासगरी एमसीसीले सबभन्दा बढी आलोचित बनेकाले पनि हुनुपर्छ, उनले त्यसलाई प्रष्ट्याउने भरमग्दुर प्रयत्न पत्रकारहरुसँग गरे।
प्रचण्ड र उनको दलको समर्थनमै एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको हो। तर, अन्तिम घडीसम्म पनि माओवादी केन्द्र र प्रचण्ड एमसीसीको विपक्षमा थिए। आफू र आफ्नो दल एमसीसीको विषयमा विपक्षमा भए पनि अन्तिममा यसको पक्षमा उभिएको प्रचण्डले सोमबार पत्रकारहरुसँग पनि प्रष्ट्याए। र भने, ‘मलाई अन्तराष्ट्रिय कानुनका जानकार डा सूर्यप्रसाद सुवेदीको पत्रले मनोबल दियो। यो पत्र चार पेजको छ। यो पत्रले मलाई पुरै कन्फिडेन्स दियो।’ एमसीसी अनुमोदन गर्नुको जस लिने प्रयत्न गर्दै प्रचण्डले भने, ‘एमसीसी यथास्थितिमा पारित नगर्न अन्तर्राष्ट्रिय बाटो छ्याङ्ग पार्नु भयो। व्याख्यात्मक रुपमा एमसीसी पारित गर्दा अर्को पक्षले स्वीकार गर्नुपर्छ। गरेन भने प्रोजेक्ट नै खारेज हुने ठाउँमा पुग्छ भन्ने रहेछ।’
त्यसक्रममा प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा संसदबाट अनुमोदन गर्दा राजनीतिक भन्दा कानुनी रुपमा बलियो हुने कुरा स्पष्ट भएको समेत उल्लेख गरे। एमसीसी सम्झौता अनुमोदन गर्न आफूले पहल गरेको दाबी गर्दै उनले सुनाए, ‘रामचन्द्र पौडेलले हिजोको बैठकमा यो व्याख्यात्मक घोषणा पारित गर्ने कुरा तपाईले गर्नु भयो, आज सफल भयो भन्नु भयो’, प्रचण्डले भने, ‘म कसरी यसमा राष्ट्रिय सहमति बनाउने भन्ने चिन्तामा थिएँ। व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्न सकिन्छ भन्नेमा छ्याङ्गै भएपछि दायाँबायाँ गर्नु हुँदैन भन्ने अवस्थामा पुगेको हुँ।’
एमसीसीको जस लिने प्रयत्नमा देखिएका प्रचण्ड बोल्दै जाँदा केही यस्ता विषय पनि बोलिदिए जसबारे उनी नबोल्न पनि सक्थे। जस्तो कि, यसबारे वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राजदूतसँग कुरा गरेकोसमेत उल्लेख गरे। ‘एमसीसीमा सहमत भएपछि केही साथीहरुले अमेरिकी दुतावासमा गएर कुरा पनि गर्नुभयो। प्रधानमन्त्रीजीले पनि कुरा गर्नुभयो’, प्रचण्डले भने, ‘उता (अमेरिकी दुतावास)बाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेमा पनि स्वीकार गर्न सकिन्छ भन्ने संकेत पाइयो। त्यसपछि गठबन्धनमा सहमति भयो।’
बोल्दै जाँदा उनले एमसीसीमा मुख्य भूमिका आफूले खेलेको दाबी पटकपटक गरे। र नामै लिएर कांग्रेस महामन्त्री गगन थापा र अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दीले यसमा खेलेको भूमिकाको पनि प्रशंसा गरे।
एमसीसीको जस लिने प्रयासमा प्रचण्ड यसको विरोधमा देखिएका आफ्नै पार्टीका नेताहरुदेखि एमाले नेता भीम रावलप्रतिसमेत आक्रोशित बने। ‘कतिपय साथीहरुलाई यो (व्याख्यात्मक घोषणा) ठगपत्र पनि लागेछ, तिनले ठूलो भ्रम छर्ने प्रयत्न गरेका छन्’, रावलप्रति लक्ष्यित गर्दै उनले एमसीसीको वकालत गरे, ‘अब हामी सबैले गर्व गर्नुपर्छ। राष्ट्र पुनः एकजुट भएको छ। सबै राजनीतिक दल र नेपाली समाज विभाजित हुनबाट बचेको छ।’
एमसीसीको पक्षमा उभिने निर्णयमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेललगायतको असन्तुष्टि छताछुल्ल भएको थियो। तिनमध्ये श्रेष्ठले सामाजिक सञ्जालमै पोखेको असन्तुष्टिलाई लिएर प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरे। ‘नारायणकाजी कमरेडले बैठकमा असहमति राख्नुभयो। तपाईलाई मतभेद राख्ने अधिकार पार्टीमा हुन्छ, तपाईको विचारलाई सम्मान गरिन्छ,’ प्रचण्डले भने, ‘अब केन्द्रीय समिति बैठक आउँदै छ, त्यसमा व्यवस्थित रुपमा राख्नुहोला, त्यसो हुँदा केही आपत्ति हुँदैन, म सम्मानै गर्छु भनेको थिएँ। तर, उहाँले मान्नु भएन।’ एमसीसीको विरोध गर्ने वित्तिकै सबै जनता आउँने भए नेमकिपाका प्रेम सुवाललाई हेर्न पनि उनले आग्रह गरे।
महाकाली सन्धिमा राष्ट्रघात गरेको भन्दै एमालेको झण्डै आधा पंक्ति विभाजन गरेका वामदेव गौतमले निर्वाचनमा शून्य नतिजा ल्याएको स्मरण गराउँदै प्रचण्डले पार्टी छाड्ने घुर्की देखाइरहेका माओवादीका कतिपय नेतालाई पनि कटाक्ष गरे।
दोहोरो चरित्र देखाएको आरोपबारे प्रचण्डको प्रष्टीकरण
कहिले एमसीसीको विपक्षमा उभिने, कहिलेसँग अमेरिकासँग बकपत्र गर्ने र फेरि विरोधमा उत्रिने जस्ता क्रियाकलाप गरेको भन्दै यसबीचमा प्रचण्डमाथि दोहोरो चरित्र देखाएको गम्भीर आरोप लाग्यो। आफ्नै व्यवहारबाट पनि उनले त्यो आरोपलाई पुष्टि गरिरहे। सोमबार पत्रकारहरुसँग भने उनले आफूले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास गरेको र त्यसक्रममा आफूलाई विद्रुपीकरण गरिएको भन्दै आक्रोश पोखे।
‘राष्ट्रिय सहमत होस भनेर एमसीसीलाई पत्र लेखियो। त्यो पत्र बाहिर आएपछि यति धेरै विवादहरु छताछुल्ल भए, मलाई त भिलेनै जस्तो बनाइयो’, प्रचण्डले भने, ‘मेरो चाहना राष्ट्रिय सहमति बनोस्, विभाजित समाज बन्न नजाओस्, यसकै कारण संविधान र लोकतन्त्र खतरामा नपरोस् भन्ने थियो।’
आफूले असल मनसायले एमसीसीमा राष्ट्रिय सहमति खोज्दा आफूलाई विद्रुपीकरण गरिएको भन्दै प्रचण्डले दुःखमनाउ पनि गरे। ‘मेरो चाहना कसैलाई झुक्याउने वा ठग्ने थिएन। मेरो इमान्दार राष्ट्रिय सहमति गर्ने र सबैको वीचमा समझदारी गर्ने प्रयास थियो’, उनले भने, ‘त्यसपछि मलाई यति धेरै विदु्रपिकरण गरियो, यति भल्गराइज गरियो, प्रचण्ड भन्ने मान्छे नै के हो भन्नेगरी विभिन्न तरिकाले प्रचार भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।