काठमाडौं– भारतीय कपडा ब्राण्ड बिइङ ह्युमनका नेपाली सञ्चाल सन्तोषचन्द्र बख्रेलसहितको टोलीले बेच्ने गरेको मदिरा नक्कली नभएको पुष्टि भएको छ।
बख्रेलसहितको समूहले भन्सार छलेर काठमाडौं भित्र्याई बेच्ने गरेका मदिरामा नक्कलीको आशंका गरिएको थियो। उक्त मदिरा नक्कली हुनसक्ने भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मदिराको गुणस्तर जाँचका लागि पठाएको थियो। गुणस्तरबाट मदिरा नक्कली नभएको भन्ने रिपोर्ट आएको महाशाखाका प्रवक्ता तथा एसपी कृष्ण पंगेनीले जानकारी दिए।
ठूलो मात्रामा मदिरासहित महाशाखाले बिइङ ह्युमनका नेपाली बिक्रेता पर्सा घर भएका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, नेपाली सेनाका पूर्वहवल्दार सर्लाहीको बरहथवा नगरपालिका–९ घर भएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे, कागेश्वरी मनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त र पर्साको सुवर्णपुरका २८ वर्षीय रवीन पाख्रीनलाई पक्राउ गरेको थियो।
भन्सार छलेर ल्याइएका रेड लेबल, ब्ल्याक लेबल, एबसोल्युट भोड्का, चिभास रिगल महाशाखाको टोलीले बरामद गरेको थियो। बरामद उक्त मदिरा सक्कली नै रहेको पाइएको छ।
रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।
रवि भन्ने भारतीय नागरिक र हाल पक्राउ परेका बख्रेलको योजनामा भारतबाट राजश्व छलेर नेपाल ल्याई मदिरा बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको थियो।
बख्रेलले ३ महिना अगावै पहिलो पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई बेचेको खुलेको थियो।
बख्रेलले बजारमा बिक्री वितरण गर्न ईन्फिनिटी लिक्योर, मुलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएका थिए। घिमिरेले उक्त ब्राण्डको मदिरा डिउटी फ्रीको हो भन्दै ग्राहकलाई बिक्री गर्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।