काठमाडौं- अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ।
पार्टीले एमसीसीको व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्ने निर्णय गरेपछि माओवादी केन्द्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन्। उनीहरुले पार्टी बैठकमा नेतृत्वको आलोचना गर्ने तयारी गरेका छन्।
पार्टीको आठौं महाधिवेशनको निर्णय विपरीत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लौटी निर्णय गरेर व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गर्न गठबन्धनमा सहमति गरेको भन्दै नेताहरुले असन्तुष्टी पोखिरहेका छन्।
पार्टी महाधिवेशनले एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरे पनि व्याख्यात्मक घोषणाको नाममा जस्ताको त्यस्तै एमसीसी पारित गरेको भन्दै नेताहरुले बिरोध जनाएका हुन्। अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा व्यवस्थित रुपमा कुरा उठाइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताए।
‘अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा मज्जाले उठाउँछौ। पार्टीले महाधिवेशनको म्यान्डेटविरुद्ध निर्णय गर्यो। महाधिवेशनबाट एमसीसी संशोधन भएपछि मात्रै बल्ल पारित गर्न सकिन्छ भन्ने हो’ पोखरेलले भने, ‘व्याख्यात्मक रुपमा पारित भन्ने संशोधन होइन। यसको कुनै भ्याल्यु छैन। त्यो शून्य भ्याल्यु हो।’
अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै नगरेको बताउँदै पोखरेलले ब्याख्यात्मक रुपमा एमसीसी पारित गर्नुको अर्थ नहुने दाबी गरे।
‘अमेरिकाले भियनामा हस्ताक्षर नै गरेको छैन। भियना कन्भेन्सनको अमेरिका पार्ट नै होइन’ उनले भने, ‘हामीले संसदबाट पारित गर्यौं भन्नुको अर्थ रहन्छ? त्यसलाई अमेरकाले रिकग्नाईज नै गर्दैन।’
एमसीसी व्याख्यात्मक रुपमा पारित भए लगतै अमेरिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएकाले त्यो बाहेक अरु केही नहुने पोखरेलको दाबी छ। आफूहरुले अमेरिकालाई ध्यानकर्षण नभएर संशोधन गराउन खोजे पनि असफल भएको उनले बताए।
अध्यक्ष प्रचण्डले गरेको निर्णयमा अधिकांश नेता कार्यकर्ता असन्तुष्ट भएकाले उनलाई मिलाउन गाह्रो हुने देखिएको छ। यहीँ कारण पार्टीका कतिपय नेता कार्यकर्ताले पार्टीसमेत छोड्न सक्ने आकलन गरिएको छ।
आइतबारको स्थायी समिति बैठकमा पाँच नेताले व्याख्यात्मक घोषणापछि एमसीसी पारित गर्नेबारे असन्तुष्टी राखेका थिए। नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा, नेताहरु गिरिराजमणि पोखरेल, लिलामिण पोखरेलले उक्त प्रस्तावको बिरोध गरेका थिए।
पार्टी महाधिवेशन विपरित नजान अध्यक्ष प्रचण्डलाई उनीहरुले ध्यानकर्षण गराएका थिए। प्रचण्डले सभामुखलाई महाअभियोग, माधव नेपाल सहित १४ सासदको कारबाही, प्रधानन्यायाधीशको महाभियोग उल्टाउने र द्वन्द्वकालीन मुद्दा उल्टाएर फसाउन खोजिएको भन्दै एमसीसीको पक्षमा नेताहरुलाई सहमत गराउन खोजेका थिए।
एमसीसीलाई व्याख्यात्मक रुपमा पारित गर्दा जोखिम कम हुने भएपछि यस्तो निर्णयमा पुगेको प्रचण्डको भनाइ थियो।
यद्दपी स्थायी समितिमा रहेका अधिकांश नेताहरुले चित्त नबुझाए पनि पार्टीको निर्णय भन्दै स्वीकार गरेका थिए। त्यस लगतै संसदमा गिरिराजमणि पोखरेल र सांसद अन्जना विसंख्यले एमसीसी ध्वनी मतसहित पारित हुनु अघि आफ्ना कुरा राखेका थिए।
स्थानीय चुनाव नजिकिएको अवस्थामा पार्टीले एमसीसीको पक्ष लिँदा मत घट्ने भन्दै कतिपय नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अध्यक्ष प्रचण्डले पार्टीलाई सामूहिक रुपमा चलाउनुका साटो एक्लौटी ढंगले चलाएको भन्दै नेताहरुले आगामी बैठकमा विरोधको तयारी गरेका छन्। एमसीसीका विषयमा माओवादीभित्र नारायणकाजी श्रेष्ठ पक्षका नेताले असन्तुष्टी पोखेका छन् भने तल्लो तहका नेता कार्यकर्तासमेत असन्तुष्ट बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।