काठमाडौं- नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले ‘व्याख्यात्मक घोषणा’ले एमसीसीबारे भ्रम निवारण गर्ने काम गरेको बताएका छन्।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता माथिको दफावाल छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘व्याख्यात्मक घोषणाले तीनवटा नयाँ काम गरेको छ यो राम्रो छ। एमसीसी सम्झौताका बारेमा भ्रम छरेर जनतालाई भ्रम निवारण गर्ने मौका भएको छ। यो व्याख्यात्मक घोषणा राम्रो छ,’ उनले भने,‘गठबन्धन हो सबैको इज्जत जोगाउनै पर्छ। हामीले सबैसँग सहयोग लिनुपर्छ भन्ने बलियो सन्देश गएको छ। अनुमोदन गर्ने क्रममा आम सहमति भएको छ।’
उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना मागका विषयमा नारा लगाए पनि एमसीसीको विरोध भने नगरेको बताए।
‘उहाँहरुले एमसीसीको विरोध गर्नुभएको छैन। त्यसैले राष्ट्रिय सहमति भएको छ,’ उनले भने,‘गठबन्धन भित्रको समस्या समाधान भएको छ। अब प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षीको मागका सम्बन्धमा ध्यान दिएर सबै स्थानीय तहको निर्वाचनमा जानुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।