काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले अमेरिकी अनुदान सम्झौता (एमसीसी)का सन्दर्भमा तयार भएको व्याख्यात्मक घोषणा अमेरिकी नियकाले नमाने नेपालले पनि सम्झौता नमान्ने बताएका छन्।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा सहभागी हुँदै यादवले व्यख्यात्मक घोषणा एमसीसीको अंग बन्ने बताए।
'व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्छ। एमसीसी संसद्बाट अनुमोदन भएपछि लागू हुने, तर व्याख्यात्मक घोषणा लागू नहुने भन्ने हुँदैन। अमेरिकाले व्याख्यात्मक घोषणा मानेन भने हामी पनि एमसीसी मान्दैनौं,' यादवले भने।
यादवले व्याख्यात्मक घोषणा जनताको आवाज भएको टिप्पणी गरे।
'सडकमा आन्दोलन नभएको भए व्याख्यात्मक घोषणा आउने थिएन। व्याख्यात्मक घोषणाको रुपमा जनताको आवाज सम्बोधन भइरहेको छ,' यादवले भने, 'कतिपय साथीहरुले व्याख्यात्मक घोषणालाई लाज छोप्ने धोती भन्नुभयो। यो लाज छोप्ने घोषणा होइन, जनताको आवाज हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।