काठमाडौं– प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि छलफल गरियोस् भन्ने स्वीकृत भएको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको उक्त दुवै प्रस्ताव स्वीकृत भएको हो।
अहिले एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि छलफल सुरु भएको छ। यतिबेला माओवादी केन्द्रका सांसद् सुरेन्द्र कार्की (राम कार्की)ले धारणा राखिरहेका छन्। उनले नेपालले नेपाललाई महत्त्व दिन्छ भने व्याख्यात्मक घोषणालाई स्वीकार गर्नुपर्ने बताए।
व्याख्यात्मक घोषणामा नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनिएको छ।
त्यस्तै, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहने छ भनी घोषणा गरिएको छ। कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्ति उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपयोग नेपालले गर्न पाउने छ भनी घोषणा गरिएको छ।
आजै एमसीसी पारित गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।