काठमाडौं– कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वाङ्मय शताब्दी पुरुष’को रूपमा सम्मान गरेको छ।
१५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको अवसरमा उनलाई सम्मान गरिएको हो। नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता भण्डारीको सम्मानमा कलात्मक बग्गीमा राखेर प्रज्ञा प्रतिष्ठान कमलादीबाट रत्नपार्क, भद्रकाली हुँदै रामशाह पथस्थित बारको प्रांगणसम्म रथारोहणसमेत गरिएको थियो।
कानुन व्यवसायीदेखि न्यायाधीशहरुले सवैले ‘गुरु देव’ भनेर चिनिएका वरिष्ठ अधिवक्ता भण्डारी वि.स. १९८४ जेठ २६ मा रौतहटमा जन्मिएका थिए।
भण्डारीले २००७ सालको क्रान्तिबाट राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गरेका थिए। पछिल्ला समय दुईपटकसम्म भएको संसद् विघटनको विपक्षमा रहेका भण्डारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन माग्दै नेपाल बार एसोसिएसनले गरेको सय दिन लामो आन्दोलनमा अग्रमोर्चामा सक्रिय रहँदै आएका थिए।
भण्डारी ६४ वर्षदेखि सक्रिय रूपमा न्यायको पैरवी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।