काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सहायतासम्बन्धी सम्झौतामा प्राय सबै राजनीतिक दलको संलग्नता रहेको टिप्पणी गरेका छन्। एमसीसी सम्झौता गर्न नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक अन्य सबै दलको संगलग्ना रहेको थापाको भनाइ छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै कांग्रेस सांसद् थापाले एमसीसी सम्झौताका लागि पूर्व प्रधानमन्त्री स्व सुशील कोइराला बाहेक सबै प्रधानमन्त्रीको भूमिका रहेको बताए। थापाले अहिले संसद्मा आएर एमसीसीका बारेमा झुट नबोल्न पनि चेतावनी दिए।
नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' एवम् सांसद झलनाथ खनाल, एमालेका नेता भीम रावल र माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरेलसहितलाई लक्षित गर्दै थापाले मन्त्रिपरिषद्मा बसेर हस्ताक्षर र पहल गर्ने अनि अहिले गैर जिम्मेबार तर्क नर्गन आग्रह गरे। थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हुन्छ भनेर हावा कुरा नगर्न पनि आग्रह गरे ।
थापाले मेलम्ची खानेपानी आयोजनादेखि अन्य विकासका आयोजनाको फर्म्याट हेर्न पनि आग्रह गरे । ‘धेरै झुट नबोलौं, मन्त्रिपरिषद्मा बसेर सम्झौता अघि बढाउने हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं। यो हदसम्मको हावादारी कुरा गर्ने ?’ उनले भने, ‘नेपालको संविधानभन्दा माथि केही हुन्छ? अनि नेपालको कानुनसँग सन्धिमा भएको कुरा बाझियो भने सन्धि लागू हुन्छ भन्ने?'
उनले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनतासामू झुट नबोल्न पनि चेतावनी दिए।
‘झलनाथ खनाल प्रधामन्त्री हुँदा एमसीसी सम्झौताबारे भएको मन्त्रिपरिषद्को निर्णय पल्टाएर हेरे हुन्छ। माननीय गिरिराजमणी पोखरेलले यसलाई रोष्टममा उभिएर राष्ट्रघाती भन्नुभयो,’ उनले भने, ‘२०७४ साल साउन १९ गतेको मन्त्रिपरिषद्को निर्णय पल्टाएर हेरौँ। त्यो बेलामा उहाँ पनि मन्त्री हुनुहुन्थ्यो।’
आइतबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' एवम् पूर्वप्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारले एमसीसी सम्झौताका लागि पत्र लेखेको भनेर प्रचार गरिएको भन्दै उक्त कुरा झुटो भएको बताएका थिए। नेता खनालले एमसीसीका सन्दर्भमा आफू र आफ्नो नेतृत्वको सरकारको कुनै भूमिका नरहेको दाबी पनि गरेका थिए।
एमसीसीका विषयमा एमालेसँग पनि सँगै छलफल होस् भन्ने चाहेर नै कांग्रेसले पहल गरेको, तर सम्भव नभएको थापाको भनाइ छ। केही समयमा संसद्को अवरोध खुल्ने विश्वास व्यक्त गर्दै उनले बाह्य स्रोत नभई काम गर्न गाह्रो भएकाले कुनै न कुनै देशसँग कि ऋण कि अनुदान लिनुपर्ने अवस्था रहेको बताए। उनले अहिले अमेरिकाको एमसीसी लिएको, अब चीनसँग पनि लिनुपर्ने र सबैसँग लिएर देशको विकास गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।