काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौता ल्याउन पहल गर्नेले अहिले संसद्मा उफ्रिन नहुने बताएका छन्। एमसीसी अघि बढाउने समयमा आफू हुँदा अग्रसर हुने तर अहिले आएर उफ्रन जरुरी नहुने उनको टिप्पणी छ।
उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै आफ्नो सरकार भएको समयमा लेखेको पत्रको कुरा सम्झेर जस र अपजस लिन आग्रह गरे।
‘एउटालाई राष्ट्रवादी र अर्कोलाई राष्ट्रघाती कसरी हुन सक्छ?’, उनले भने ‘एमसीसी तलैसम्म यसरी विशाक्त गरिएको छ। हामी आफ्नो सांसदीय क्षेत्रमा जान नसक्ने बनाइएको छ।’
उनले खासगरी माओवादी केन्द्रको कारण तलसम्म यसलाई गलत बहसमा लगेको आरोप लगाए। तर, अहिले पातलो लगौटीले लाज छोपेर जनतासम्म जाने वातावरण बनाउन विरोधमा रहेका दलहरु लागेकोमा आफू खुशी भएको उनले बताए।
भट्टराईले अप्रिय सत्य पनि बोल्नुपर्ने भन्दै देश र जनताको पक्षमा बोल्न आफू सदनमा उभिएको बताए। उनले सुशील कोइरालापछि आठ प्रधानमन्त्रीको समयमा यो सम्झौता अघि बढेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।