काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतासँगै पेस हुन लागेको व्याख्यात्मक घोषणाका कारण यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्।
एमसीसी सम्झौताको सन्दर्भमा सुरुदेखि नै विरोध गर्दै आएका गुरुङले दलहरुका बीचमा भएको सहमतिले एमसीसीको सम्झौता आर्थिक परियोजनामा मात्र राख्न सकिएको दाबी गरे।
‘सुरुमा नेपालको कानुनहरु निस्क्रिय हुने र अमेरिकी कानुन हावी हुने भएको थियो,’ उनले भने, ‘यस प्रकारको सम्झौता संशोधन नगरी हुँदैन भनेर हाम्रो पार्टीले सुरुदेखि भन्दै आएको अवस्था हो। माओवादी केन्द्र लगायतका केही घटकका बीचमा संशोधनको कुरा आकर्षण हुनेगरी घोषणा आउने कुरा सुन्नमा आएको छ। यो सकारात्मक छ।’
उनले यो प्रस्तावमा विरोधको सूचना र संशोधनको प्रक्रिया राखेको नदेखिएको भन्दै उनले राजनीतिक दलले यो बुँदामा संशोधन हुन्छ भनेर ल्याउनु सकारात्मक भएको दाबी गरे।
‘एमसीसी कम्पनीलाई हामीले गरेको घोषणा स्वीकार हुन्छ कि हुदैन?’ उनले भने, ‘स्वीकार हुन्छ भने सकारत्मक भएको छ। नत्र हुँदैन।’
उनले यो गम्भीर प्रकारको कुरा भएकाले सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए। विगतमा धेरै आर्थिक परियोजना सञ्चालन भएको, तर यो फरक रहेको र नेपालको कानुन र सार्वभौम अधिकार मिच्ने गरी आएको गुरुङले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।