काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अधिवक्ता गोविन्द बन्दीले नेताहरुलाई व्याख्यात्मक घोषणाका बारेमा ब्रिफिङ गरिरहेका छन्।
बैठकमा बन्दीले व्याख्यात्मक घोषणा के हो? कसरी हुन्छ? केके हुन्छ? लगायतका विषयमा नेताहरुलाई जानकारी दिइरहेका छन्। बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्न सहमत भएपछि बैठक बोलाइएको हो। आफ्नो पार्टीको बैठकअघि नेपाल बालुवारटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए।
बालुवाटार बैठकमा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट आजै अनुमोदन गर्ने गठबन्धनले निर्णय गर्दै गर्दा नेपालले आजै नगर्न भनेका थिए। उनले पार्टीमा थप छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए। तर, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब ढिलाइ गर्न नहुने भन्दै आजै अनुमोदन गर्नुपर्ने बताएका थिए।
त्यसपछि बालुवाटारबाट बाहिरिएका नेपाल आफ्नो पार्टीको बैठमा सहभागी छन्। बैठकमा कानुन व्यवसायी गोविन्द बन्दी पनि सहभागी छन्। उनी एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्नका लागि तयार पारिएको मस्यौदा निर्माणमा सहभागी थिए। मस्यौदाबारे एकीकृत समाजवादीका नेताहरूलाई ’ब्रिफिङ गर्न’ उनलाई बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।