काठमाडौं- लामो समयदेखि विवादको विषय बन्दै आएको एमसीसी अन्ततः प्रतिनिधि सभाबाट अनुमोदन हुने भएको छ। सत्ता गठबन्धनका दलहरु गठबन्धनलाई जोगाउने उपायको खोजी गर्दै जाँदा एमसीसीका कतिपय प्रावधानमा आफ्नो ढंगले व्याख्यात्मक घोषणा गर्ने र अनुमोदन गर्न सहमत भएका हुन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गर्न सहमत भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।
व्याख्यात्मक घोषणामा सम्झौतामा जस्ता शंका उठाइएका थिए, तिनलाई प्रष्ट पारिने पौडेलको भनाइ छ। 'यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग होइन। यो नेपालमा नेपालको संविधान नै सर्वोपरि हुन्छ। यो विशुद्ध आर्थिक सहयोग र हाम्रो विकासको लागि विकास सहयोगको रुपमा मात्रै हामी यसलाई बुझ्छौं,' पौडेलले भने।
पौडेलले व्याख्यात्मक घोषणाको साथै सम्झौतालाई पनि सँगसँगै अट्याच गरेर अन्त्यमा प्रस्तुत गरिने बताए। 'अन्त्यमा सदनले त्यो सहितै पारित गर्छ,' उनले भने। एमसीसी प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकबाट अनुमोदन हुने पौडेलले बताए।
उनले एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमालेको सकारात्मक भूमिका हुने अपेक्षा व्यक्त गरे। 'किनभने, प्रमुख प्रतिपक्षी दल नै संसद्बाट पास गर्ने र अगाडि बढाउने भनेर निर्णय गर्ने भनेर प्रमुख प्रतिपक्षी दलकै नेता प्रधानमन्त्री भएको बेलामा यो अगाडि बढेको हो। त्यसकारण उहाँहरु त यसमा पूर्णरुममा बाँधिनुभएको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।