काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता पास गर्ने सत्ता गठबन्धनको निर्णयप्रति आफ्नो असहमति र आपत्ति बताएका छन्।
उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, 'यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखी सकेका छौं।'
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराएको बताउँदै आफू लगायतले मतभेद राखेको श्रेष्ठले उल्लेख गरेका छन्।
माओवादी एमसीसी अनुमोदनको पक्षमा उभिनु महाधिवेशन बिरुद्ध र गलत रहेको उनको भनाइ छ। माओवादी केन्द्रको महाधिवेशनले संशोधन नगरी एमसीसी सम्झौता पास गर्न नहुने नीति लिएको थियो।
'राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्। यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ,' एमसीसीका सन्दर्भमा माओवादी केन्द्रको महाधिवेशनले पारित गरेको प्रस्तावमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।