काठमाडौं- सत्ता गठबन्धनको आइतबारको बैठकले एमसीसीलाई आइतबारै पारित (संसद्बाट अनुमोदन) गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले संसद्को आजकै दोस्रो बैठकले एमसीसी पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजै पारित गर्न नहुने प्रस्ताव राखेको एक नेताले बताए। 'पार्टीमा थप छलफल गर्नुपर्छ भन्ने उहाँको प्रस्ताव थियो', ती नेताले जानकारी दिए।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने माधव नेपाललको प्रस्तावलाई अस्वीकार गरेका थिए। 'प्रधानमन्त्रीजीले अब ढिलाइ गर्न हुन्न भनेपछि आजै पारित गर्ने निर्णय भयो', उनले जानकारी दिए।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो। तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो।
तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी पारित गर्न लागेको हो।
प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।