काठमाडौं– सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणाबारे छलफलमा जुटेका छन्।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्बाट पारित गर्न असहयोग गर्दा गठबन्धन नै टुट्ने अवस्था सिर्जना भएपछि प्रचण्ड र नेपाल व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने विकल्पका लागि तयार भएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसीसीबारे व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार पारिसकेको छ।
टोलीका सदस्यहरुले प्रचण्ड र नेपाललाई बेग्ला–बेग्लै भेटेर व्याख्यात्मक घोषणाबारे जानकारी दिएका थिए। व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार भएपछि प्रचण्ड र नेपालले शनिबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार गएरै भेट गरेका थिए।
देउवासँगको भेटपछि दुवै नेता प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन्। खुमलटारमा गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी भएका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।