काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुको छलफल निष्कर्षविहीन भएको छ। शनिबार अपराह्न ४ बजेपछि सुरु भएको भेट झन्डै अढाइ घण्टा लम्बिएको थियो।
बैठकबाट बाहिरिने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरुलाई बैठक सकारात्मक नभएको जानकारी दिँदै भने,‘तपाईंहरुलाई नयाँ कुरा नै भनौंला भनेर लामो छलफल गर्यौं। तर, कुरा पुरानै हो।’
पुरानै कुरा अर्थात्, कांग्रेसको तर्फबाट एमालेलाई संसद्को अवरोध अन्त्य गर्न र एमसीसीको पक्षमा मत दिन अनुरोध। एमालेले एमसीसीका विषयमा सत्ता गठबन्धनको एकीकृत धारणा आउनुपर्ने र संसद् बैठकमा भाग लिने वातावरण बनाउन माग।
मन्त्री कार्की भन्छन्, ‘हामीले आज पनि उहाँहरुलाई प्रतिनिधि सभालाई सुचारु गरौं। एमसीसीलाई राष्ट्रिय सहमतिका अनुमोदनको दिशामा लगेर मुलुक महत्त्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश विश्वलाई दिनुपर्छ भन्ने प्रस्ताव गर्यौं। उहाँहरुले पुरानै कुरा दोहोर्याउनुभएको छ। हामीलाई प्रतिनिधि सभाको द्वार हाम्रा निमित्त खुलेको छैन। त्यसलाई खुलाउने काम गर्नुस्। तपाईंहरु सरकारमा भएकाले त्यो तपाईंहरुको दायित्व हो भनेर उहाँहरुले भन्नुभएको छ।’
सदनमा आफूहरुको अवरोध जारी रहेकाले त्यो अन्त्य हुने परिस्थिति नबनेसम्म कुनै पनि प्रक्रियामा आफूहरु सहभागी नहुने एमालेको प्रत्युत्तर थियो। ‘विगत ५/६ महिनामा हामीले संसद्भित्र सभामुखको भूमिकालाई लिएर संसद् अवरोध गर्दै आइरहेका छौं। त्यो विषयलाई सम्बोधन गर्नका लागि हामीले निरन्तर अनुरोध गर्दै आइरहेका छौं। र त्यसमा जबसम्म उहाँहरुले हाम्रो तर्फको मागलाई सुनुवाइ गर्नुहुन्न। अन्य प्रक्रियामा हाम्रो उपस्थिति सम्भव छैन भन्ने कुरा गरेका छौं’, एमाले महासचिव शंकर पोखरेलले भने।
एमसीसीको विषयमा सत्ताधारी दलहरुको एकीकृत धारणा नबनीकन आफूहरुले कुनै धारणा नदिने एमालेले दोहोर्याएको थियो। सदनमा प्रवेश गर्ने वातावरण बनेका दिन आफूहरुले स्पष्ट धारणा दिने उनीहरुको भनाइ थियो।
दुई पार्टीबीच निरन्तर छलफल भइरहने नेताहरुको प्रतिक्रिया छ। ‘मुलुकको लोकतान्त्रिक भविष्यका सन्दर्भमा र राष्ट्रिय हितका सन्दर्भका बारेमा दुई पार्टीका बीचमा निरन्तर छलफल गर्नुपर्छ भन्ने कुरा भएको छ’, पोखरेलले भने, ‘अहिले त हामी नयाँ निष्कर्षमा पुगेका छैनौं। हामीले आफ्नो कुरा गरेका छौं। उहाँहरुले आफ्नो कुरा गर्नुभएको छ। हामी छलफलको प्रक्रियामै छौं। जबसम्म हामी निष्कर्षमा पुग्दैनौं। दुइटा पार्टका बीचमा छलफल चलिरहन्छ।’
बैठकमा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि आज भेट हुने तय भएको थियो। दुई शीर्ष नेताको भेटअघि दोस्रो तहका नेताहरुले छलफल गरेका हुन्। तर, उनीहरुको छलफल नै निष्कर्षमा नपुगेपछि देउवा–ओली भेट हुन सकेन।
एमसीसीलाई पारित गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरुबीच सहमति नजुटेपछि देउवाले एमालेसँग संवाद अघि बढाएका हुन्। उनले केही दिनयता एमालेसँग निरन्तर संवाद गर्दै आएका छन्। तर निष्कर्ष भने निस्किएको छैन। एमसीसीसँगको सम्झौता यही फागुन १६ गतेभित्र प्रतिनिधि सभाबाट अनुमोदन गरिसक्नुपर्ने समयसीमा भएका कारण पनि दलहरुबीच भेटवार्ता तीव्र बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।