काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका दोस्रो तहका नेताहरुबीच शनिबार भएको भेटवार्ता विना निष्कर्ष सकिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निजी निवासमा भएको भेटवार्तामा एमालेले पुरानै अडान दोहोर्याएपछि सहमति जुट्न नसकेको हो।
भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्र बहादुर कार्कीले लामो कुराकानी भएपनि कुनै निष्कर्षमा नपुगेको जानकारी दिए।
'लामो छलफल भयो । प्रतिनिधि सभालाई सुचारु गर्न आग्रह गर्यौं। उहाँ(एमाले नेता)हरुले पुरानै कुरा गर्नुभयो,' कार्कीले भने, 'प्रतिनिधि सभाको द्वार दिनुस् भन्नुभयो।'
शनिबारको बैठकमा संसद्मा जारी अवरोध हटाउने विषयमा केन्द्रित रहेको कार्कीले जानकारी दिए। तर, अवरोध हटाउने विषयमा एमाले नेताहरुले पुरानै सर्त दोहोर्याएको हो।
'सरकारको दायित्व हो–प्रतिनिधि सभा सुचारु गराउन पहल गर्ने । हामीले यही पहलस्वरुप आज एमालेसँग पनि छलफल गरेका हौं,' कार्कीले भने।
शनिबारको छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।