काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन दुषित भएको बताएका छन्। शनिबार एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धन दुषित भएकाले त्यसले लोकतन्त्र र संविधानलाई बिगार्ने बताए। यस्तो गठबन्धन टिक्नु नहुने उनको जोड छ।
संविधान र कानुन बमोजिम, मूल्य र मान्यता बमोजिम गठबन्धन बन्नसक्ने भए पनि दुषित गठबन्धन बन्नु नहुने उनको भनाइ थियो। अहिलेको गठबन्धन भत्किनुपर्ने बताएका नेम्वाङले गठबन्धन भत्किए पनि आफूहरु सरकारमा भने नजाने बताए।
'अहिले हामी नेपाली कांग्रेससँग कुरा गरिरहेका छौं। प्रचण्डजीसँग कुरा गरिरहेका छौं। शेरबहादुरजीसँग पटकपटक कुरा गर्दा, उहाँ घरिघरि बालकोट पुग्दा, हाम्रो अध्यक्ष घरिघरि बालुवाटार पुग्दा अब नेकपा एमाले सरकारमा जाने भयो भनेर पनि चर्चा हुन्छ। कति जना मन्त्री भनेर छललफल भइरहेको छ पनि भन्छन्। मैले पटकपटक भनेको छु र अहिले पनि दोहोर्याउन चाहन्छु, हामी मूल्य र मान्यताको राजनीति गर्छौं। हामीलाई कुनै पनि पद, सरकारप्रति माया मोह र आशक्ति छैन। हामी सरकारमा जाँदैनौं। हामी चाहन्छौं, जे छ त्यो भन्छौं', उनले भने।
उनले आफूहरुले प्रधानमन्त्री देउवालाई पनि निर्वाचनसम्म सरकार चलाउन भनेको बताए। 'हाम्रो कुनै पनि सर्त छैन। तपाईंले एक दिन पनि ढिलो गर्न पाउनुहुन्न, निर्वाचन पर धकेल्न पनि पाउनुहुन्न। बरु दलहरुसँग कुरा गरेर अलि चाँडो गर्न सक्नुहुन्छ भने गर्नुस्। तर यो गठबन्धन भत्किनुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।