काठमाडौं- युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली राजदूतावासले जनाएको छ । युक्रेनसमेत हेर्दै आएको बर्लिनस्थित नेपाली राजदूतावासले हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ।
रूसले युक्रेनको पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेकोले दूतावासले त्यतातर्फ जान आग्रह गरेको छ। स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान राजदूतावासले नेपालीहरुलाई अनुरोध गरेको छ।
युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेका छन्। ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।