काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौतामाथि बाँकी संसदीय प्रक्रियाका सन्दर्भमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरु ओली निवास बालकोट पुगेका थिए।
बालकोटमा पनि ओलीले पुरानै अडान दोहोर्याएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
'प्रधानमन्त्रीज्यूले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ, हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो,' कार्कीले भने।
छलफलका क्रममा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि आफूहरु (कांग्रेस–एमाले) एक ठाउँ उभिनुपर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ।
'उहाँ (ओली)ले हामीले धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं, लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ। हामीलाई संसदभित्र प्रवेश गर्ने द्वार खुलेको छैन, त्यो द्वार खोलिदिनुस् भन्नुभो,' कार्कीले भने।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले उठाएका विषयप्रति कांग्रेस नेताहरु गम्भीर भएको बताए।
'नेकपा एमालेलाई संसदमा बस्ने वातावरण बनाउनुस् भनेर नै हामीले भन्यौं। झट्ट हेर्दा केही सांसद्लाई कारबाहीको कुरो देखिए पनि यो विषय दलबाट निर्वाचित सांसदले दलीय पद्दतिविपरीत काम गर्दा दलले कारबाही गर्न पाउने कि नपाउने भन्ने सैद्दान्तिक मान्यतासँग जोडिएको छ,' एकीकृत समाजवादीका १४ सांसदको सांसद पद खारेज हुनुपर्ने संकेत गर्दै ज्ञवालीले भने।
सभामुखले १४ सांसद्लाई कारबाही गरेको सूचना टाँस नगर्ने हो भने मार्ग प्रशस्त गर्नुपर्ने भनेर आफूहरुले कुरा राखेको ज्ञवालीले बताए।
'सभामुखले कि मार्ग प्रशस्त गर्नु पर्यो कि १४ सांसदलाई कारबाही गर्नुपर्यो भन्ने नै हो। आज परिणाम नै आएको छैन, तर उहाँहरु गम्भीर हुनुहुन्छ,' ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।