काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन जोगाउन ‘सकारात्मक’देखिएका छन्। प्रधानमन्त्री देउवा र प्रचण्डबीच शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा एमसीसीकै कारण गठबन्धन नतोड्ने निष्कर्षमा पुगेको निकट नेताहरूले बताएका छन्।
प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेका थिए। त्यसभन्दा अघि प्रचण्डले माओवादीको निर्वतमान स्थायी समिति बैठक बोलाएर नेताहरूसँग छलफल गरेका थिए। एमसीसी सम्झौताकै कारण गठबन्धन तोडिने अवस्थामा पुगेपछि उक्त बैठकले गठबन्धन जोगाउन अन्तिमपटक प्रयत्न गर्ने निष्कर्ष निकालेको थियो।
बैठकमा गठबन्धन जोगाउन पुनः प्रधानमन्त्रीसँग छलफल गर्न नेताहरूले प्रचण्डलाई सुझाएका थिए। सोही अनुसार उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
एमसीसी पारित गर्न सत्ता गठबन्धन विकल्पमा जान तयार भएपछि तत्काल गठबन्धन जोगिने दिशामा अघि बढेको नेताहरूको दाबी छ। माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई विशेष समिति गठन गरी विज्ञहरुको सुझाव लिएर पास गर्ने, संसदीय समितिमा छलफल गरे निष्कर्षमा पुर्याउने र एमसीसीको विपक्षमा उभिएर संसद् बहिस्कार गरेर गठबन्धन जोगाउने विकल्पमा जान सकिने सुझाव दिएका छन्।
यद्यपि, कुन विकल्पमा गएर एमसीसी पारित गर्ने भन्ने विषयमा अझै सहमति भइनसकेको बालुवाटार स्रोतको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।