फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले एमसीसी सम्झौता संसद्बाट पास भएपछि कांग्रेस र एमालेबीच गठबन्धनको सरकार बन्नसक्ने बताएका छन्।
एमसीसी पास भएपछि वर्तमान सरकार रहिरहन नसक्ने पनि कोइरालाको भनाइ छ।
शुक्रबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालालले एमसीसी सम्झौता संसद्बाटै पारित हुने पनि दाबी गरे।
'एमसीसी पास हुन्छ। पास भइसकेपछि यो सरकार जान पनि सक्छ, नजान पनि सक्छ। यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ,’ कोइरालाले भने।
एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने कोइरालाको भनाइ छ। 'एमसीसी नेपालको लागि राम्रो हो। किनभने ९ देशहरुमा एमसीसी लागू भइसकेको छ, त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ। मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रालागि राम्रो हो,' कोइरालाले भने।
प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि रहेको पनि टिप्पणी गरे।
‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भनेर शेरबहादुरजीको हिसावले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ, एउटा एमसीसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने,' कोइरालले भने, 'उहाँको अन्तिम प्रयास एमसीसी पनि पास गराऔं, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ। त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ।'
एमसीसी गम्भीर मुद्दा भएकाले यसमा छलफल चल्नु स्वभाविक भएको कोइरालाको भनाइ छ। 'एमसीसी सानो इस्यू होइन, गम्भीर इस्यू हो। गम्भीर विषयमा स्वभाविक वार्ता चलिरहन्छ। गतिरोध स्वभाविक नै हो,' कोइरालाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।