काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्। महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा पदीय दूरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सञ्चालन गराउन नसकिने पार्टीको अडान पनि दोहोर्याए।
शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिने क्रममा सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर्ने वित्तिकै संसद सूचारु हुने र एमसीसीका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिने बताए।
महासचिव पोखरेलले गैरकानुनी ढंगले पदीय दूरुपयोग गरेर आफ्नो पार्टी विभाजन गराउने काममा सामेल हुने सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पार्टीको माग रहेको बताए।
'हाम्रा लागि सत्ताको प्रश्न प्रधान प्रश्न होइन। हामी कुनै सरकारलाई परिवर्तन गरेर अर्को सरकार बनाउने मान्यताको पक्षमा पनि छैनौं। मुख्यकुरा लोकतन्त्र डिरेल भएको छ। लोकतन्त्रलाई सही बाटोमा हिँडाउने कुरा महत्वपूर्ण छ' उनले भनेका छन्, 'हामी सरकारको प्रश्नभन्दा बाहिर गएर लोकतन्त्रको आधारभूत मूल्यहरुमा आधारित रहेर डिरेल बन्दै गएको लोकतान्त्रिक प्रणालीलाई लिकमा ल्याउने मान्यताको पक्षमा छौं। र, त्यसका लागि पहल गर्छौं।'
महासचिव पोखरेलले लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन पनि सभामुख सापकोटाले आफ्नो दल विभाजनका बेला गरेको गल्ती सच्याउन वा पदबाट राजीनामा गराउने काममा नेपाली कांग्रेस सहमत हुनुपर्ने तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।