काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले उठाउँदै आएको १४ सांसद कारबाही र सभामुख अग्नि सापकोटा 'स्टेप डाउन' हुनुपर्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको बताएका छन्।
शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो समय आफ्नो पार्टी र सत्तारुढ कांग्रेसको बीचमा सकारात्मक छलफल अगाडि बढेको बताए।
‘छलफलहरु सकारात्मक ढंगले नै अघि बढेको छ। हामीले देशका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा मुलुकको राजनीतिक स्थायित्वका लागि, मुलुकमा बाह्य शक्तिसम्बन्धहरुको सन्तुलनहरुको लागि अर्थतन्त्रमा देखा परेका शंकटहरुको निवारणको लागि र यो सिस्टम जोगाउनका लागि मिनिमम अण्डरस्ट्याण्डिङ हुनुपर्छ भन्दै आएका हौं,' ज्ञवालीले भने, 'हामीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाहीको सूचना टाँस हुनुपर्छ र यसो नगर्ने सभामुखज्यू हुनुहुन्छ, उहाँले स्टेप डाउन गर्नुपर्छ भन्ने कुरा छ। त्यसो भयो भने संसदमा हामी जान पाउँछौं, छलफलमा सहभागी हुन पाउँछौं। अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ यथावत छ। यसमा सामान्यतया उहाँ (कांग्रेस)हरु सकारात्मक हुनुहुन्छ।'
अमेरिकासँगको अनुदान सम्झौता एमसीसीलाई गिजोलेर सत्तारुढ गठबन्धनले भूराजनीतिक विषय बनाएको ज्ञवालीको भनाइ छ।
'एमसीसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरुले दुई वटा जुन ब्लन्डर गरेका छन्, यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ। यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने नबढाउने भन्ने। तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ,' ज्ञवालीले भने, 'एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति, यो निम्त्याएको उहाँहरुले हो। समाजलाई जसरी विभाजन गर्नुभयो उहाँहरुले आज सडकमा पक्ष र विपक्षमा जुन ढंगको स्थिति बन्दैछ, कुनै पनि विषयमा यो ढंगले समाजमा विभाजन हानिकारक हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।