काठमाडौं– नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।
शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो।
निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले बताए। उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताए। उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे।
प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताए। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको छ। निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।