काठमाडौं– प्रतिनिधि सभाको बैठक आज पनि स्थगित गरिएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठक नबसेरै आजको संसद् बैठक बस्ने तयारी गरिएको थियो।
एमसीसीका विषयमा सैद्धान्तिक छलफल पश्चात् साधारण बहुमत वा मत विभाजनमा सहमति जुट्न नसक्दा आजको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ। बैठक आइतबारका लागि तय गरिएको छ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस साधारण बहुमतबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने अडानमा छ। सत्ताघटक माओवादी केन्द्र भने एमसीसीलाई मतदानको प्रक्रियामा पुर्याउने पक्षमा छ।
सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र त्यसपछि स्वीकृतिका लागि सभामुखले प्रस्ताव राख्ने प्रक्रिया छ। यतिबेला सामान्यतया ध्वनि मतबाट निर्णय लिइन्छ र दफाबार छलफल हुँदै अनुमोदनको प्रक्रियामा अघि बढ्छ।
तर, एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रका सांसद्ले सैद्धान्तिक छलफलपछि नै २८ जना सांसदको सहायतामा मत विभाजन माग्ने र एमसीसीलाई बीचमै रोक्ने रणनीति अख्तियार गरेका थिए। सो रणनीति चुहिएपछि बिहीबारको प्रतिनिधि सभा बैठक अन्तिम समयमा सरकारको आग्रहमा स्थगित गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।