काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन्। उनी बिहान ११ बजे पोखरा जान लागेका हुन्। गण्डकी प्रदेशमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा जान लागेको एक नेताले बताए।
कार्यक्रममा सहभागी भएर ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक र पछिल्लो समय एमसीसीले राजनीतिक तरंगित भएकाले पनि अध्यक्ष ओली पोखरामा कार्यक्रम सकेर फर्किने भएका हुन्। पोखरामा विभिन्न पार्टी परित्याग गरेर नेता कार्यकर्ता एमालेमा आउने भएपछि उनीहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली पोखरा जान लागेका हुन्। ‘पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली पोखरा आउन लाग्नुभएको हो,’ एमाले गण्डकी प्रदेशकी इन्चार्ज एवम् सचिव पद्मा अर्यालले भनिन्।
तत्कालीन समयमा एमाले उपाध्यक्ष रहेका अशोक राईसँग एमालेबाट बाहिरिएका नेता गणेशमान गुरुङ एमालेमै प्रवेश गर्दै छन्। उनीसहित थुप्रै नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ। गुरुङ जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्जसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।