काठमाडौं– नेकपा माओवादी केन्द्रले एमसीसी फेल गराउने योजना बनाएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको प्रतिनिधि सभा बैठक स्थगित गर्न लगाएको खुलेको छ।
एमसीसीमाथि सैद्धान्तिक छलफल अगाडि बढाउन नदिइ माओवादीले मत विभाजनको प्रक्रिया सुरु गर्न माग गरेर एमसीसी सम्झौता फेल गराउने योजना बनाएको कुरा थाहा पाएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक स्थगित गराएको नेपाली कांग्रेसका एक नेताले नेपाल लाइभलाई जानकारी दिए।
बिहीबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अगाडि बढाउने कार्यसूची थियो। तर, माओवादी केन्द्रका २८ जना सांसद्ले उठेर सम्झौताको विषयमा मतविभाजन गरिनुपर्ने प्रस्ताव गर्ने र यस्तो अवस्थामा सभामुखले मत विभाजनको प्रक्रिया सुरु गरेर एमसीसी फेल गराउने योजना बनेको कांग्रेसका ती नेताको भनाइ छ।
प्रतिनिधि सभाको नियमावली २०७५ को नियम २९ अनुसार कम्तीमा २८ जना सांसद्ले मत विभाजन माग गरेमा प्रस्ताव पक्षधरले बहुमत सिद्ध गर्नुपर्ने हुन्छ।
माओवादी केन्द्रले प्रतिनिधि सभा नियमावलीको सोही व्यवस्थालाई उपयोग गरेर एमसीसी फेल गराउन खोजेकाले बिहीबारको बैठक स्थगित गर्न प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको कांग्रेसका ती नेताको भनाइ छ।
'हिजो (बुधबार) साँझ नै माओवादीका नेता र सभामुखबीच मतविभाजन माग गर्ने र एमालेकै नाराबाजीका बीचमा एमालेको समेत उपस्थिति जनाएर एमसीसी बहुमतबाट अस्वीकृत भएको भनेर फेल गराउने योजना रहेछ,' कांग्रेसका ती नेताले भने, 'माओवादीको उक्त योजना थाहा पाएपछि प्रधानमन्त्रीले सभामुखलाई आज (बिहीबार)को बैठक स्थगित गर्न भन्नुभएको हो।'
बिहीबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुसँगको छलफलमा पनि प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बिहीबारकै बैठकबाट माओवादीले एमसीसी फेल गराउन खोजेकोबारे 'जानकारी' गराएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले संसद्मा प्रस्तुत गरेको एमसीसीमा मतविभाजन गर्न खोजिएको बताएका थिए।
२०४८ सालदेखिको नेपालको संसदीय इतिहास स्मरण गराउँदै कार्कीले सरकारले पेस गरेको प्रस्ताव सामान्य बहुमतको प्रक्रियाबाट पारित गरिने भएपनि मत विभाजन गर्न खोजिएको बताएका थिए।
'२०४८ सालदेखि हाम्रो जुन संसदीय परम्परा र अभ्यास छ, त्यो अभ्यासमा हामीले सरकारले ल्याएको प्रस्तावलाई, सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा छैन। म यति कुरा भन्न चाहन्छु,' कार्कीको भनाइ थियो।
सरकारले ल्याएको प्रस्तावलाई मत विभाजन गर्न थाल्दा भोलिका दिनमा कुनै पनि सरकारले ल्याएको प्रस्तावहरुमा छलफल नै नहुने परिस्थिति सिर्जना हुने पनि कार्कीले चिन्ता व्यक्त गरे। 'किनभने बहुमत नभइकन सरकार बन्दैन। र बहुमतप्राप्त सरकारले ल्याएको प्रस्तावमाथि छलफल भएन भने त्यो संसदको के काम? त्यो प्रतिनिधि सभाको के काम?' कार्कीले भने, 'त्यसैले भोलि (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुन्छ। त्यसपछि त्यसमा गहन र सार्थक छलफल भएर एमसीसीलाई हामीले निष्कर्षमा पुर्याउनुपर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।