काठमाडौं- प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता चलिरहेको छ। बिहीबार बेलुका ७ बजेदेखि सुरु भएको भेट जारी छ। उनीहरुबीच दिउँसो पनि छलफल भएको थियो।
सत्ता गठबन्धन अघि नबढ्ने निष्कर्षमा पुगेको कांग्रेस नेतृत्वले एमालेसँग संवाद अघि बढाएसँगै महत्त्वपूर्ण भेटले तीव्रता पाएका हुन्। दुई पक्षबीचको भेटले राजनीतिमा नयाँपन आउने आकलन गरिएको बेलामा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले परिवर्तनको सम्भावना रहेको भन्दै फेसबुक स्टेटस् लेखेका छन्। ‘राष्ट्रिय राजनितीमा आजै केही परिवर्तनको सम्भावना’, उनले लेखेका छन्।
एमालेले कांग्रेससँग आफूले कारबाही गरेका १४ सांसद्को कारबाही सदर हुने र सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनको उपाय खोजेको नेताहरुले बताएका छन्। त्यसो भएमा आफूहरुले संसद् बैठकमा सहभागी हुने वातावरण बन्ने र एमसीसीमा सघाउन सकिने प्रस्ताव राखेको छ। एमसीसी पारित गर्ने सर्तमा कांग्रेस त्यसका लागि तयार हुने आकलन गरिएको छ।
ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री युवराज खतिवडाले दर्ता गरेको एमसीसीलाई फागुन ८ गते प्रतिनिधि सभामा टेबल गरिएको छ। फागुन १६ अघि नै त्यसलाई पारित गर्नका लागि कांग्रेसले सक्रियता बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।