काठमाडौं– नेकपा एमालेका नेताहरुसँगको भेटवार्तापछि नेकपा माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
बिहीबार अपराह्न संसद् भवन नयाँ बानेश्वरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको थियो।
भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित दुवै पार्टीका नेताहरु सहभागी थिए।
दुवै पार्टीका नेताहरुले भेटवार्ताका क्रममा भएको कुराकानीबारे कुनै जानकारी दिन मानेका छैनन्।
माओवादी केन्द्रका एक नेताले भने एमालेका नेतासँगको भेटवार्तापछि आफूहरु बेग्लै छलफलमा जुटेको जानकारी दिए।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेसँगै राजनीतिक भेटघाट तीव्र बनेको छ।
सत्तारुढ नेपाली कांग्रेस एमसीसी जसरी पनि संसद्बाट पारित गराउने पक्षमा छ। तर, सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधन नगरी एमसीसी पारित गर्न नहुने पक्षमा छन्।
एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमालेका नेताहरुसँग छलफल गरेका छन्।
प्रधानमन्त्री देउवासँगको छलफलपछि एमाले अध्यक्ष ओलीसहितका नेताहरुले माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरुसँग छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।