काठमाडौं- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते भएका प्रदर्शनकारीको पहिचान खुलेको छ।
बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा डडेलधुराका हेमराज अवस्थी गम्भीर घाइते भएका हुन्।
घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेन्टर रिफर गरिएको छ। अहिले उनको अवस्था सामान्य रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल लाइभलाई जानकारी दिए।
चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो।
बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले हिंसात्मक हुँदै गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै, प्रहरीमाथि ढुंगा प्रहार गर्नेहरुमाथि प्रहरीले लठी प्रहार गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।