काठमाडौं– पछिल्लो समय विकसित घटनाक्रमले सत्ता गठबन्धनको निरन्तरतामा प्रश्न उठेको छ। कांग्रेस महामन्त्री गगन थापाको शब्दमा भन्दा, 'सत्ता गठबन्धन धरापमा परिसकेको' छ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटबाट बाहिरिने क्रममा थापाले भने, 'यो गठबन्धन अगाडि जाने कुरामा समस्या आयो अब। आइ नै सक्यो। धरापमा परिसक्यो।'
प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बिहीबारको भेट पनि तिक्ततापूर्ण बनेको थियो। सत्ता घटकका दुई शीर्ष नेताबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटले नै ‘सत्ता गठबन्धन’ टुट्ने आकलन गरिसकिएको थियो।
सरकारमा सम्मिलित अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र 'सम्मानित नेता' झलनाथ खनाललाई सिंहदरबारमा भेटेर प्रचण्ड बालुवाटार पुगेका थिए। ‘दुई दलका विचार’ लिएर बालुवाटार पुगेका प्रचण्डको संवाद देउवासँग सौहार्द रहेन।
बिहीबार प्रचण्ड–माधव–झलनाथ छलफल, देउवा–प्रचण्ड भेट, कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँमा दिएको अभिव्यक्ति, संसद् स्थगन, संसद भवनमै देउवा–ओली संवाद लगायतका विकसित घटनाक्रमले गठबन्धन टुट्ने सम्भावनालाई संकेत गरेका छन्।
संसद्मा टेबल भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पारित गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा पूर्वअडानमा कायम रहे। प्रचण्डसँगको भेटमा एमसीसीलाई हरसम्भव छिटो पारित गर्नुपर्ने देउवाको जोड थियो। ‘जसरी पनि एमसीसी पारित गर्नुपर्ने दबाबमा छु। तपाईंहरुले साथ दिनुपर्छ। यही गठबन्धनकै सहयोगमा एमसीसी पारित होस् भन्नेमा म छु’, देउवाको बोली उधृत गर्दै स्रोले भन्यो।
देउवाले आफूमाथि एमसीसी पारित गर्न दबाब बढेको समेत प्रचण्डलाई सुनाएका थिए। अमेरिकी अनुदान सहयोग भएकाले स्वाभाविक रुपमा देउवालाई दबाब अमेरिकाको भएको आकलन गर्न सकिन्छ। विगतका संवादभन्दा फरक तरिकाले प्रचण्डसामू देखिएका उनले भनेका थिए, 'गठबन्धन टुटे टुटोस्, प्रधानमन्त्री पद गए जाओस्, म एमसीसी पारित गर्छु।’
वर्तमान सरकार निर्माणमा मुख्य भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ लिने देउवाको अन्तिमसम्मको कसरत छ। एमसीसीको पक्षमा ती दुई दल नदेखिँदा गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने मनस्थिति देउवाले बनाएका छन्। एमालेसँग सहयोग लिने संकेत देउवाले प्रचण्डसँग पनि गरेका थिए। सम्भवतः माओवादी र एकीकृत समाजवादीसँग दूरी बढेर पनि हुनसक्छ, देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार संसद् भवनमै भेटे। यसअघि ओलीलाई बालुवाटार बोलाएका देउवाले बुधबार बिहान भने गृहमन्त्री बालकृष्ण खाणलाई बालकोट पठाएका थिए।
नयाँ बानेश्वरको भेटमा पनि देउवाले ओलीलाई सोही आशयको कुरा राखेका थिए। 'प्रधानमन्त्रीले स्पष्ट रुपमा यो बेलामा नेपाली कांग्रेसलाई अहिलेको सरकार, भोलिको सरकार, आजको दिनमा के हुन्छ, भोलिको दिनमा के हुन्छ भन्ने अंकगणितसँग कुनै पनि सरोकार छैन। यो नेपालको अन्तरार्ष्ट्रिय सम्बन्धको विश्वसनीयताको कुरा हो', थापाले भने।
त्यसो त, गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्न एमालेसँग सहकार्य गर्ने पक्षमा कांग्रेसमा मत बढिरहेको छ। ‘एमसीसी संसद्मा पेस गरेको ओली सरकारले हो। पारित गर्न एमालेलाई ल्याउनैपर्छ। एमाले मौन बस्न मिल्दैन। गठबन्धन तोडेर भए पनि एमसीसी संसद्बाट अनुमोदन गराउन एमालेको साथ लिनुपर्छ’, कांग्रेस सांसद भीमसेनदास प्रधान भन्छन्।
देउवा र प्रचण्ड आफ्नो अडानमा टसमस देखिएका छैनन्। प्रचण्डले एमसीसीलाई कुनै पनि हालतमा अनुमोदन नगर्ने जवाफ देउवालाई दिएका छन्। सत्ताघटकका दुई शीर्ष नेताको बैठकमा प्रचण्डको बोली उधृत गर्दै स्रोतले भन्यो, 'जबर्जस्ती अनुमोदन गरियो भने हामी सरकारमा होइन, सडकमा हुन्छौँ।’
बिहीबार संसद् भवनबाट बाहिरिने बेलामा एकीकृत समाजवादीका नेता झलनाथ खनालको बोली सुन्दा माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्नुभन्दा गठबन्धन छोड्न तयार देखिएको संकेत गर्दछ। गठबन्धन नजोगिने संकेत उनले गरे। गठबन्धन बन्ने र टुक्रिने स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो।
'गठबन्धन बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, फेरि बिग्रन्छन्। ऐतिहासिक प्रकियामा यी सब अस्थायी घटनाक्रम हुन्। यो देश, जनता र राष्ट्रको हितलाई कहिल्यै छोडिँदैन। त्यसमा दृढतापूर्वक हामी अगाडि बढ्छौँ', उनले भनेका थिए।
एमसीसीकै कारण एमालेसँग मिल्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुँदै गएको कांग्रेसको निचोड छ। जुन कुरालाई कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँमा गएर बोलेका छन्। माओवादी र एकीकृत समाजवादी एमसीसीको पक्षमा नदेखिँदा बाध्यात्मक अवस्थाले एमालेसँग नजिकिनु परेको पौडेलको भनाइ थियो।
पौडेलले भने, ‘सत्तामा रहेर उहाँहरु विपक्षमा जानु भयो भनी हामी बाध्य भएर ओलीसँग मिल्नुपर्ने निर्णय गर्न बाध्य हुन्छौं। कांग्रेस त पास गर्न चाहन्छ, तपाईंहरु कसरी टाँसिएर बस्नुहुन्छ?’
केही दिनयता देउवा एमालेका नेताहरुसँग सघन संवादमा छन्। कांग्रेसको इच्छा हरसम्भव एमसीसीको पक्षमा एमालेलाई ल्याउनु छ। माओवादी र एकीकृत समाजवादीबिना एमसीसी पारित गराउन सकिए जस/अपजसको भागिदार समान रुपमा कांग्रेस-एमाले हुने सत्ता नेतृत्वकर्ता दलको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।