काठमाडौं- निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छिटै आचार संहिता लागू गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिए। निर्वाचनका लागि आठ अर्व ९५ करोड २ लाख बजेट माग गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिए।
‘आचार संहिता अन्तिम अवस्थामा छ। हामी केही छलफलमा छौं’ उनले भने ‘यो अन्तिम भएर राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ।’ राजपत्रमा प्रकाशित भएको आचार संहिता आयोगले उपयुक्त लागेको समयमा यो लागू गर्ने उनले बताए।
निर्वाचन आयोगले चाँडै नै लागू गर्ने सोचाई राखेको भन्दै उनले निर्वाचनमा खटिने जनशक्तीको नामावली फागुन २० सम्म प्राप्त हुने अनि अरु प्रक्रिया शुरु हुने उनले बताए। ‘आयोगले चाँडै आचार संहिता लागू गर्ने तयारी गरेको छ’ उनले भने।
आयोगले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने उनले दाबी गरे। आयोगले कोभिड संक्रमण त्यो समयमा के हुन्छ त्यही अनुसारको योजना बनाउने पनि उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।