काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले संसद्मा प्रस्तुत एमसीसी सम्झौताको विषयमा सांसदहरुले रोस्टममै गएर आफ्नो कुरा राख्न पाउनुपर्ने बताएका छन्।
बिहीबार बस्ने भनिएको प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका श्रेष्ठले सार्वभौम संसद्मा सांसदहरुले आफ्नो कुरा विना अवरोध राख्न पाउनुपर्ने बताए। यसका लागि एमालेले जारी राखेको अवरोध खुलाउनुपर्ने र अवरोध खुलाउन प्रधानमन्त्री र सभामुखले पहल गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
उनले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि आफूहरुले यही कुरा राखेको, तर त्यहाँ सहमती हुन नसकेको बताए।
आफूहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीमाथि छलफल गर्नका लागि एमालेको अवरोध खुलाउनुपर्ने माग गरेको र त्यही कारण प्रधानमन्त्रीको आग्रहमा आजको वैठक स्थगीत भएको उनले बताए।
एमसीसी सम्झौताको विषयमा एकीकृत समाजवादीमा विवाद देखिएको हो? भन्ने प्रश्नको जवाफमा श्रेष्ठले एमसीसीका सन्दर्भमा पार्टी एकढिक्का भएर धारणा सार्वजनिक गरेको बताए।
‘एमसीसी दूरगामी महत्वको विषय भएकाले हो–हल्लाका बीचमा छलफल नगरौं भनेर हामीले भन्यौं,’ श्रेष्ठले भने ‘सडकदेखि सबैतिर आन्दोलन भइरहेको छ। सबै सांसद्हरुले रोस्टममा बोल्न पाउन पर्यो।'
उनले जनताको प्रतिनिधिले बोल्न पाएन भने नकारात्मक सन्देश जाने भएकाले प्रमुख प्रतिपक्षसँग पनि छलफल गर्न आग्रह गरेको, तर कार्यव्यवस्थामा सहमती हुन नसकेको बताए।
कार्यव्यवस्थामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले सदन स्थगित गरौं भनेर आग्रह गरेको र संसद् स्थगित भएपछि दलहरुबीच छलफल हुने उनको भनाइ छ।
‘आजबाट सैद्धान्तिक छलफल गर्ने भन्ने कुरा कार्यव्यवस्थामा भएको थियो। तर, प्रधानमन्त्रीले भोलि बैठक राखौं भनेपछि हाउस स्थगित भएको हो,’ उनले भने, ‘हामीले नै प्रतिपक्षसँग छलफल गर्न भनेका थियौं। हो–हल्लाकै बीचमा छलफल हुँदैन।’
प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै भनेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।