काठमाडौं– सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ।
संसद्मा टेबल भएको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताका सन्दर्भमा साझा धारण तय गर्न भन्दै दुवै दलका सांसदसहित नेताहरु छलफलमा जुटेका हुन्।
सिंहदरबारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित सहभागी रहेका थिए।
बैठकमा सहभागी एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले बैठकमा एमसीसीका विषयमा छलफल भएको जानकारी दिए। एमसीसीका सन्दर्भमा आफूहरु 'शीरदेखि तीरसम्म' स्पष्ट रहेको खनालको भनाइ छ।
बैठकमा कुनै निर्णय नभएपनि एमसीसीका सन्दर्भमा संसद्मा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको खनालले बताए। 'एमसीसी संसद्मा प्रस्तुत भइसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने विषयमा आ–आफ्ना धारणा राख्यौं। समाजवादी सीरदेखि तीरसम्म एउटै कुरामा दृढ रहेको छ। परिमार्जन र संसोधन बिना, यथास्थितिमा एमसीसी पास हुन सक्दैन,' खनालले भने।
बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ।
सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छन् भने माओवादी र समाजवादीले अनुमोदनका सन्दर्भमा 'निर्णय' गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।