फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जमिन छाड्दा सर्वोच्चले आफूहरुलाई पछारेको बताएका छन्। बुधबार 'समवेत दृष्टि' नामक पुस्तक विमोचनमा बोल्दै उनले रुसी कथाको सन्दर्भ लिँदै एमाले जस्तो पार्टीलाई पनि सर्वोच्चले पछारेको बताएका हुन्।
'एउटा रुसी कथामा लेख्छ, यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन। एउटै सर्तमा मात्रै ऊ हार्छ, उसलाई जमिनबाट छुटायो भने। अथवा जमिनबाट माथि उठायो भने निर्बल भइहाल्छ। जमिन छुन पायो कि ऊ बलियो हुन्छ', ओलीले भने, 'अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतमा पनि लगेर चार जना न्यायाधीशले पछार्दा रहेछन्, एमाले जस्तो पार्टीलाई। अलिकति मौका मिल्यो भने।'
उनले सधैंभरि उचालेको उचाल्यै नहुने भन्दै आफूहरुले जमिन छुने बताए। 'जमिनमा टेकिहाल्छौँ र जनतासँग एकाकार भइहाल्छौँ', उनले भने।
ओलीले कसैले एकछिन जालझेल, षडयन्त्र, तिकडम गर्ने, केही गुटहरु मिले र जालझेलबाट एकपटक लडाउन सक्ने भन्दै मोर्चाहरुको हारलाई युद्धको हार भन्न नमिल्ने बताए।
'जीवन शर्माले गाउनुहुन्छ, मोर्चाहरुका हारले युद्धको हार हुँदैन। एउटा मोर्चामा हारिएको हुनसक्दछ। तर, युद्धमा हार भएको होइन। मोर्चाको हार मात्रै हो। हामी समग्र युद्ध हारेका होइनौँ। एक मोर्चा हारेका हौँ। एक अवधिको कुरा हुन्छ', उनले भने।
ओलीको जन्मदिन मनाउने कार्यक्रममा उनले आफ्नो ग्रहदशा राम्रो रहेको बताए। 'ग्रहदशा ज्योतिषीहरुले हेर्ने कुरा हो, राम्रै होलान्। जनता सबै एकतिर लागेपछि ग्रहदशा राम्रा हुने नै भए नि। मेरो ग्रहदशा पनि राम्रो छ। सबैभन्दा मुख्य कुरा जनताको आशिर्वाद छ', उनले भने।
जनताको आशीर्वादले आफ्नो आत्मबल राम्रो भएको उनको भनाइ थियो। कतिपयले किन हरेश खाँदैन, किन निराश हुँदैन भन्ने गरेको भन्दै उनले त्यसको कारण पनि जनताको साथ नै रहेको बताए। जनता भगवान् भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।