काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौताकै कारण सरकार नछाड्ने भएका छन्। एमसीसी सम्झौतालाई प्रतिनिधि सभामै टेबल हुन नदिने प्रयत्न गरेका र अन्ततः त्यसमा असफल भएका उनीहरुले सो प्रस्ताव पारित भए पनि सरकारमै रहने भएका हुन्।
तर, एमसीसीका विरुद्ध सरकार, सदन र सडक तीनवटै मोर्चामा लड्ने ती दुई दलको तयारी छ। सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गराउन प्रयत्नशील छ। माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसलाई फेल गराउने उपायको खोजीमा छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अब सडक, सदन र सरकार तीनवटै मोर्चामा लड्ने बताए। ‘आजसम्म एमसीसी रोकिएको हाम्रो कारण हो। माओवादीले सडक, सदन र सरकारका तीनवटै मोर्चाबाट एमसीसीको विपक्षमा लड्छ। सशक्त प्रतिवाद गरौं। बहादुरिता र क्रान्तिकारिताको नाममा आजै हामी भाग्नु हुँदैन। सडक र सरकारबाट दबाब, सदनबाट विपक्षमा मतदान गरी/गराई अस्वीकृत गर्नुपर्छ’, फेसबुकमा उनले लेखेका छन्, ‘केही शक्ति एमसीसी पारित गर्ने, गठबन्धन टुटाउने र माओवादीलाई अलगावमा पार्दै चुनावमा लगेर राजनीतिक हत्या गर्ने योजनामा छन्।’
अर्कोतिर, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन भने जोगाउनुपर्ने प्रयत्नमा छन्। एमसीसी फेल/पास जे भए पनि गठबन्धन कायम राख्ने उनीहरुको प्रयास छ। एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा रहने/नरहने ठूलो कुरा नभएको बताउँदै राष्ट्रिय स्वाधिनतासँग जोडिएको एमसीसी पास गराउने अवस्थामा जान नहुने बताए।
‘एमसीसी जस्तो राष्ट्रिय सरोकारको विषयमा संसद्मा छलफल हुँदैछ। त्यसमा पार्टीले ह्विप लगाएर विपक्षमा मतदान गर्न आह्वान गर्न सकिन्छ। पार्टीले ह्विप नै लगाउँदैन भन्ने होइन’, उनले भने, ‘सरकारमा बस्ने/नबस्ने ठूलो कुरा होइन। एमसीसी फेल गराउन के कस्तो रणनीति अपनाउन सकिन्छ, त्यो अपनाउने भन्ने छ।’
सरकारमै बसेर एमसीसीको विपक्षमा मतदान गरिने खतिवडाले बताए। खतिवडाले सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकपछि भनेका थिए, 'एमसीसी पास गर्ने सर्तमा सरकारमा गएका थिएनौँ। सरकारमा जानु राष्ट्रिय आवश्यकता थियो। त्यसैले सरकारमा जाने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्नुपर्दैन। सरकारभन्दा देश ठूलो हो। देशको पक्षमा वकालत गर्न कसैले पाठ पढाइरहनुपर्दैन।'
माओवादी केन्द्र र एकीकृत समाजवादीले निश्चित उद्देश्यका साथ गठबन्धन बनाएको भन्दै एमसीसीकै कारण त्यसलाई भत्काउन नहुने बताउने गरेका छन्। तर, एमसीसीकै कारण गठबन्धनमा दरार उत्पन्न हुने आकलन हुन थालेपछि कांग्रेस नेता रामचन्द्र पौडेलले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका थिए।
'उहाँले अरु कुरा होइन, गठबन्धन पनि बचाउनुपर्यो। एमसीसीको पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो। मैले गठबन्धन त बच्छ। एमसीसी त प्रक्रियाबाट टुंगिन्छ भनेँ', भेटपछि प्रचण्डको भनाइ थियो।
जसपामा एमसीसीमा दुई धार
जनता समाजवादी पार्टीमा एमसीसीलाई लिएर स्पष्ट दुई धार देखिएको छ। देउवा नेतृत्वको सरकारमा सहभागी भएदेखि नै केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको दुई धार एमसीसीसम्म आउँदासम्म कायमै छ। बाबुराम एमसीसीलाई पारित गर्नुपर्ने पक्षमा छन्। उपेन्द्र भने खुलेर बोलेका छैनन्। पार्टीले पनि एमसीसीका विषयमा साझा धारणा बनाउन सकेको छैन।
आगामी फागुन १२ गतेको संसद् बैठकअघि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएर छलफल गर्ने समझदारी भए पनि उपेन्द्रले फागुन १३ गते बैठक बोलाएपछि विवाद चर्किने देखिएको छ। एमसीसीको विषयमा केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने भनिए पनि अध्यक्ष उपेन्द्र यादवले टार्न खोजेको नेता नवराज सुवेदीले बताए।
‘एमसीसी, स्थानीय निर्वाचन लगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने सहमति थियो। उपेन्द्रजीले एक्कासी १३ गते कार्यकारिणी समिति बैठक बोलाउनु भयो’, सुवेदीले भने, ‘हामी नयाँ शक्तिदेखि एमसीसीको पक्षमा वकालत गर्दै आएका छौँ। अहिलेसम्म जसपाका २० सांसदमध्ये १० जना खुलिसकेका छौँ। त्यो बढ्ने देखिन्छ।’
उपेन्द्र एमसीसीको पक्ष वा विपक्षमा नखुलेको सुवेदीले बताए। तर, उपेन्द्रपक्षीय एक सांसदले उनी एमसीसीको विपक्षमा भएको दाबी गरे। पार्टीमा एमसीसीलाई लिएर पक्ष/विपक्ष भए थप विवाद बढ्ने भएकाले उपेन्द्र चुपचाप भएको उनको दाबी छ। एमसीसीका विषयमा भोटिङ हुने अवस्थामा सांसदहरुलाई स्वतन्त्र छोड्ने अवस्था आउने सक्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।