काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन्।
सोमबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने आश्वस्त पारेका हुन्।
प्रचण्ड र पौडेलबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय भेटवार्ता भएको थियो।
फागुन १२ गते प्रतिनिधि सभामा एमसीसी सम्झौताका विषयमा छलफल हुने भएपछि त्यस विषयमा छलफल गर्न दुई नेताबीच भेटघाट भएको हो।
'उहाँले (रामचन्द्र पौडेलले) अरु कुरा होइन, गठबन्धन पनि बचाउनुपर्यो। एमसीसीको पनि समस्या समाधान हुनुपर्यो भन्ने लाइनबाट भन्नुभएको थियो। मैले गठबन्धन त बच्छ। तर, एमसीसी चाहिँ प्रक्रियाबाट टुंगिन्छ भनेँ', भेटवार्तापछि प्रचण्डले भने।
एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट सुरु गरेका छन्।
उनले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन्। पौडेलले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।