काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रचार प्रसारमा अहिले फिल्मको निर्माण पक्ष व्यस्त छ। प्रदर्शनको संघारमा रहेको फिल्मको प्रचारका लागि निर्माण पक्षसँग कलाकारले आफ्नो आफ्नो जोडबल लगाएका छन्।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को निर्माण पक्षले प्रचारका लागि फरक फरक शैली अपनाएको छ। कहिले फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा सिनेमा हलमा पुगिरहेका छन् भने कहिले फिल्मको प्रचारका लागि विभिन्न भाषामा गीत निकालिएको छ।
केही दिनअघि फिल्मको निर्माण पक्षसँगै कलाकारद्वय पल र पूजा काठमाडौंका विभिन्न सिनेमा हलमा पुगेका थिए। त्यसबाहेक गत साता मात्रै फिल्मको निर्माण पक्षले थारु भाषा र नेपाल भाषामा दुई गीत सार्वजनिक गरेको छ। फिल्मको प्रचारका लागि यी दुई भाषामा गीतहरु निकालिएको छ। यो बाहेक फिल्मको प्रचारका लागि दैनिक ‘भ्लगिङ’मा पनि पल र पुजासँगै फिल्मका निर्माण पक्ष देखिन थालेका छन्।
यसबीच फिल्मको निर्माण पक्षले प्रचारकै क्रममा वृक्षारोपण पनि गरेको छ। शुक्रबार फिल्मका दुई कलाकारले काठमाडौंको बागमतीको किनारमा वृक्षरोपण गरेका हुन्। पूजा र पलले रोपेको रुखलाई उनीहरुले नामसमेत दिएका छन्। पूजाले रुखलाई ‘छाया’ नाम दिएकी छिन् भने अभिनेता पलले यसलाई ‘म यस्तो गीत गाउँछु’ नाम दिएका छन्।
फिल्मको प्रचार प्रसारमा कलाकार र निर्माण पक्षको लमकझमक राम्रै देखिएको छ। तर, फिल्मले व्यापार कस्तो गर्छ भन्ने कुरा त हलमा नै प्रदर्शन सुरु भएपछि थाहा होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।